
विराटनगर । हिसान मोरङ स्पोटर्स मिट, २०८१ यही माघ १० गते बिहीबारदेखि सुरु हुने भएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्पोटर्स मिट माघ १६ गतेसम्म चल्ने जानकारी दिएको छ । स्पोटर्स मिटअन्तर्गत महिला र पुरुष फुटबल, भलिबल, टेबल टेनिस (सिंगल र डबल), लामो तथा छोटो दुरीको दौड, पुरुष क्रिकेट, बास्केटवल एवं कबडी प्रतियोगिताको आयोजना गरिने छ ।
हिसान मोरङका अध्यक्ष अमित ढकालले जिल्लाभरिका संस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ मा अध्ययन गर्ने लगभग ३० हजार विद्यार्थीमध्येबाट खेलाडीको छनोट गरिने बताए । सम्बन्धित विद्यालय र कलेजले आन्तरिक प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर ‘सिंगल’ र ‘टिम इभेन्टस’मा सहभागिताका लागि पठाउने उनको भनाइ छ ।
ढकालका अनुसार विराटनगरको सहिद रंगशालामा मंगलबारबाटै सुरु हुने फुटबलमा २२ वटा टिमको सहभागिता रहने छ । फुटबल खेलाडीलाई ‘बेस्ट स्कोरर’, ‘बेस्ट किपर’ र ‘बेस्ट प्लेयर’का साथै २१ वटा म्यान अफ दी म्याच दिने तय भएको उनको भनाइ छ ।
उनका अनुसार भलिबलमा १७ वटा टिमको सहभागिता रहने छ । उक्त प्रतियोगितामा ‘बेस्ट स्पाइकर’, ‘रेजर’, ‘ब्लकर’, ‘सर्भर’ र ‘डिफेन्स’का साथै १६ वटा म्यान एवं वोमन अफ दी म्याच दिने तय भएको छ । १३ टिम सहभागी हुने क्रिकेटमा ‘बेस्ट बलर’, ‘बेस्ट ब्याट्स म्यान’ र बेस्ट प्लेयर तथा १२ वटा म्यान अफ दी म्याच प्रदान गरिने छ ।
फुटबल र भलिबलमा प्रथम एवं दोस्रो हुने टिमलाई ट्रफी, प्रमाणपत्र एवं खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । बास्केटबलमा प्रथम, लामो एवं छोटो दुरीको दौडका साथै टेबलटेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने महिला तथा पुरुष खेलााडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष ढकालले बताए ।
क्रिकेट खेल विराटनगर महानगरपालिका–१९ स्थित क्रिकेट रंगशाला माघ १० गतेबाट सुरु हुने छ । भलिबल, कबडी र बास्केटबल माघ १२ गते बिहानबाट डीपीएस स्कुलको मैदानमा सुरु हुने जानकारी ढकालले दिए । टेबलटेनिस कवर्ड हलमा हुने छ ।
सबै खेलको फाइनल खेल माघ १६ गते हुने छ । त्यही दिन सहिद रंगशालामा समापन कार्यक्रमको आयोजना गरिने हिसान अध्यक्ष ढकाल बताउँछन् । उनका अनुसार हिसान स्पोटर्स मिटमा लाग्ने अनुमानित खर्च ३० लाख रूपैयाँ आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिने छ ।
ढकालले स्पोटर्स मिटमा गत वर्षबाट महिला फुटबल र कबडी प्रतियोगिता थपिएको बताए । महिला फुटबल आयोजनाले हरेक वर्ष एक न एक जना राष्ट्रिय खेलाडी हिसान मोरङले नै उत्पादन गरेको खेलाडीमध्येबाट छनोट हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
यस्तो छ हिसान मोरङले जारी गरेको प्रेस विज्ञप्ति




















