
काठमाडौं । विभिन्न खेलका १५ जना खेलाडीलाई सशस्त्र प्रहरी बलले विशेष बढुवा दिएको छ । सशस्त्र प्रहरीले आफ्ना विभिन्न खेलका प्रशिक्षक र खेलाडीलाई मंगलबार विशेष बढुवा गरेको हो ।
विशेष बढुवा हुनेमा महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको छ ।एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडी जवानबाट सहायक हवल्दारमा बढुवा भएका छन् ।
यसरी बढुवा हुनेमा फुटबलकी अनिता केसी, गीता राना र सरु लिम्बू, भलिबलकी हीरा केसी र कविता भट्ट रहेकी छन् । उसुका अशोक खालिङ र कविता थापा छन् ।
त्यस्तै, ह्यान्डबलकी वन्दना राई, करातेका मोहम्मद सेखु आलम, क्रिकेटका सन्दीप जोरा, फुल कन्ट्याक्ट करातेका संजय राई, कबड्डीकी रविना चौधरी सहायक हवल्दारमा बढुवा भए ।
सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक (नेपाल एपिएफ क्लबका अध्यक्ष) सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विकास घिमिरेले बढुवा भएका खेलाडीलाई दज्र्यानी चिन्ह प्रदान गरे ।
सोही अवसरमा २८ खेलाडीलाई आइजिपी कमेन्डेसन पदक तथा २ खेलाडीलाई नगदबाट पुरस्कृत गरिएको थियो ।
कमेन्डेसन पदक पाउनेमा राष्ट्रिय क्रिकेट टोली महिलातर्फको कप्तान इन्दु बर्मा, पुरुषतर्फका कप्तान रोहित पौडेल, महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी ‘साम्बा’, रेनुका नगरकोटे, अनिता बस्नेत, हीरा भुजेल, प्रीति राई, सविता राना मगर, रश्मिकुमारी घिसिङ, निशा ठोकरलगायत छन् ।



















