यू–१९ महिला विश्वकपमा अस्ट्रेलियाविरुद्ध खेल्दै नेपाल

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार ०६:१९

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप २०२५ मा आज (बुधबार) नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो १२ः१५ बजेतिर नेपालले आफ्नो तेस्रो तथा समूहचरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी अस्ट्रेलियाको सामना गर्नुपर्ने भएको हो । हालसम्म नेपाल जितविहीन छ ।

स्कटल्याण्डसँगको खेल पनि गुमाएपछि सुपर सिक्सको यात्रा नेपालका लागि निक्कै कठिन बनेको छ। अस्ट्रेलियालाई हराउन सकेमा भने नेपालका लागि केही आश बाँकी रहन्छ । तर, स्कटल्याण्ड बंगलादेशसँग पराजित हुनुपर्छ ।

नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन्। १६ टोली सम्मिलित विश्‍वकपमा समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो ।

आज बिहान हुने पहिलो बंगलादेश र स्कटल्याण्डबीचको खेलमा बंगलादेश विजयी भएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराए पनि नेपाल सुपर सिक्समा पुग्छ । तर, स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने हुन्छ ।

नेपालको महिला टोलीले सबै उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो नै पहिलोपटक हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.