
काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने भएको छ ।
प्रतियोगिताको तयारी बारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक शीतलकाजी श्रेष्ठले शनिबार हुने हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने जानकारी गराएका हुन् ।
पुरुष / महिलाको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्वीलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुनेछ ।
सबै स्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिने छ । सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक श्रेष्ठले बताए ।
प्रतियोगिताको कूल पुरस्कार राशि करिब १८ लाख रुपैयाँ रहेको छ ।
आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । दोस्रोले १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
महिलामा ५ किलोटमिटरतर्फ शीर्ष ३ स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
विद्यार्थी र ह्वीलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्वीलचियरतर्फ महिला र पुरुषमा शीर्ष ३ स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब ५ सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ ।



















