
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान)मोरङले आयोजना गरेको ‘हिसान स्पोर्टस् मीट’मा भलिबलमा कान्तिपुर र रेडस्टार तथा बास्केटबलमा बिकेभिएमले उपाधि जितेका छन् ।
विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार (आज) भएको भलिबलको छात्रतर्फ विराटनगरको कान्तिपुर कलेजले पथरीशनिश्चरेको रेडस्टार स्कुललाई २५–१४, २५–१४ र २५–९ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । प्लेयर अफ द म्याच कान्तिपुरका सुदीप राई भए ।
छात्रातर्फ रेडस्टारले विराटनगरको मोडर्न एरा कलेजलाई २५–२३ र २५–२२ को सोझो सेटले हराउँदै उपाधि जितेको छ । प्लेयर अफ द म्याच रेडस्टारकी स्मृति राई भइन् ।
त्यस्तै, बास्केटबलमा विराटनगरको बिकेभिएम स्कुलले विराटनगरकै शिक्षादीप कलेजलाई ३७–९ को स्कोरले पराजित गर्दै उपाधि जितेको छ । प्लेयर अफ द म्याच बिकेभिएमका आकाश यादव भए ।
त्यसैगरी, क्रिकेटमा विराटनगरको ग्रिनल्याण्ड कलेजले बिकेभिएमलाई ५६ रनले हराउँदै फाइनलमा पुगेको छ । उपाधिका लागि बुधबार साबिकको उपविजेता अरनिको कलेजसँग ग्रिनल्याण्डले प्रतिस्पर्धा गर्ने छ ।
टस जिती ब्याटिङ रोजेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार परेको थियो । सञ्जीव शर्माले ३६ रन, रजनिश यादवले २४ रन, गणेश यादवले २१ रन र कृष्ण सहनीले ११ रन बनाए । बिकेभिएमका आकाश चौधरी र आदित्य प्रसाईंले समान ३–३ विकेट लिए ।
बिकेभिएमले पाएको १ सय १८ रन लक्ष्य पछ्याउने क्रममा १५ ओभर खेल्दै सबै विकेटको क्षतिमा ६१ रनमै समेटियो । अमन शर्माले १४ रन, सचिन्द्र यादवले १३ रन बनाए ।
ग्रिनल्याण्डका प्लेयर अफ म्याच गौरीशंकर माझीले ६ र फैजल अन्सारीले २ विकेट लिए ।



















