
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भद्रगोल र विपन्न अवस्थाबाट मुक्त गर्नुपर्ने बताएका छन् । त्यसका लागि जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आआफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा उनको जोड छ ।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन, २०२५ को बुधबार उद्घाटनका अवसरमा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए । उनले अब देश कुनै ‘स्टन्ट’बाजीबाट चल्न नसक्ने स्पष्ट पारेका छन् ।
सबैले इमानदारिता र बफादारिताका साथ कर्तव्य पूरा गरेमा देश भद्रगोल र विपन्नबाट मुक्त हुने ओलीको भनाइ छ । ‘राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएको हो,’ उनले भने, ‘अब शान्ति सुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध भएर लाग्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने बताए । सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने उनको धारणा छ ।
‘संसदले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ, उनले भने । देशप्रति इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सरकारलाई कानुन व्यवसायीले सक्रियतापूर्वक साथ दिनुपर्ने ओलीले बताए ।
प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरु कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतम भन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए । उनले सरकार कानुन व्यवसायी र युवाहरुको साथमा रहेको स्पष्ट पारेका छन् । सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने ओलीको भनाइ छ ।



















