
काठमाडौं । नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीसँग नेपाल पराजित भएको छ । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी– २० आई सिरिजको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो ।
काठमाडौंमा आजदेखि सुरू भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन् ।
नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २–२ विकेट लिए । इरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १–१ विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिकेले ५९ रन बनाइन् आइरिस विलिङले ३१ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक–एक विकेट लिए ।
श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३– ३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
शीर्ष स्थानमा रहने टाेली विजेता हुनेछ ।



















