प्रहरीले बारम्बार प्रयोग गर्ने ‘साइबर क्राइम’को दफा ४७ मा के छ ?

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार १९:४८

विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको हिरासतमा रहेको अवस्थाको फोटो सार्वजनिक भएपछि प्रहरीले सामाजिक अभियान्ता डाक्टर निकोलश भुसाललाई पक्राउ गर्यो ।

‘साइबर क्राइम’ विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरियो । यो मुद्दामा माघ ४ गते अदालतले मागेको धरौटीबापतको ५० हजार रूपैयाँ बुझाएर भुसाल छुटे ।

गत मंसिर २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भनेर भ्रामक सूचना प्रकाशन गरेको भन्दै विवादित छविका ‘मेडिकल’ व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पनि सोही अभियोग अनुसार मुद्दा दर्ता भयो । उनी पनि धरौटीबापतको रकम बुझाएर छुटे ।

गत असार १५ गते सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’मा ‘डार्क फाइल’ नाम दिएर ‘फेक अडियो’ उत्पादन, प्रकाशन र प्रसारण गरेको भन्दै सिधा कुरा डटकमको टिमलाई पनि सोही मुद्दा दायर भएको थियो ।

माथि उल्लेखित तीन मुद्दा ‘साइबर क्राइम’सँग जोडिएका प्रतिनिधि घटनाहरु हुन् । प्रहरीले विद्युतीय अपराधसँग जोडिएका मुद्दामा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ प्रयोग गर्छ । दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरे कारबाही हुने व्यवस्था छ ।

दफा ४७ को उपदफा १ मा भनिएको छ, ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

विद्युतीय कारोबार सम्बन्धी कारबाही चलाउने अन्य ऐन नभएका कारण सोही दफा प्रयोग गर्दै आएको प्रहरी बताउँछ । सोही दफाको उपदफा २ मा उपदफा १ अनुसारको कसुर दोहोर्याए थप सजाय हुने प्रावधान छ । यो उपदफा ‘मेडिकल’ व्यावसायी दुर्गा प्रसाईंलाई अभियोजन गर्दा प्रयोग गरिएको थियो ।

उपदफा २ मा भनिएको छ, ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा त्यस्तो कसुरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।’

यस्तो छ विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ मा भएको व्यवस्था

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.