
काठमाडौं । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा आज (शुक्रबार) हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने सम्भावना छ ।

























