
विराटनगर । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली नागरिकको मृत्यु भएको छ ।
साउदी पश्चिमी क्षेत्रको जिजान क्षेत्रमा बिहीबार भएको भयानक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको हो । यो दुर्घटनामा परी जम्मा १५ जनाको मृत्यु भएको थियो । अन्य भारतीय र घानाका नागरिक छन् ।
जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । दुर्घटनामा एक नेपाली घाइते भएका छन् ।
सडक दुर्घटनामा नौ भारतीय नागरिक र तीन जना घानाका नागरिकको पनि मृत्यु भएको बताइएको छ । जिजानबाट २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

























