फाइल तस्बिरविराटनगर । झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारकाे निर्माण रोक्न माग गर्दै कोशी प्रदेशका ९ जिल्ला बन्द गरेको समूह र प्रहरीबीच आज दिउँसो दमकमा झडप भएको हो ।
दमक नगरपालिका –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाकाे समूहले टायर बालेर सडक अवरोध गर्न खाेजेपछि प्रहरीसँग झडप भएकाे थियाे ।
प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाउन तीन सेल अश्रुग्यास प्रहार गरेको थियो । केही आन्दोलनकारी पक्राउ परेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।
पाथिभरामा केबलकार निर्माणको विरोधमा मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्दको आह्वान गरेको थियो ।
आज बन्दको प्रभाव सामान्य परेको प्रहरीले बताएको छ । सुनसरीको धरान र झापाको दमकमा यातायात बन्द गराउँदै हिडेका १० जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

























