
विराटनगर । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको मुक्कुम्लुङ संरक्षण संस्थाले सरकारसँग वार्ताका लागि ‘वार्ता समन्वय समिति’ गठन गरेको छ ।
आइतबार गृह मन्त्रालयले केबलकारकाे विराेधमा आन्दाेलनमा उत्रिएकाे पक्षसँग वार्ताका लागि सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गरी वार्ता टोली गठन गरेको थियो ।
सोमबार आन्दोलनरत पक्षले प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा शंकर लिम्बु, राम मादेन र सरस्वता सिंगक(सरु) सदस्य रहनेगरी वार्ता समिति गठन गरेकाे हाे ।
आन्दोलनरत पक्षले राजनीतिक तहबाट मात्रै वार्ता हुनुपर्ने माग गर्दै आएको छ ।
सरकारले सहसचिवको नेतृत्वमा समिति बनाएपछि प्राज्ञ तुम्याहाङको नेतृत्वमा वार्ता सहजीकरण समिति निर्माण गरेको पहिचान पक्षधरले जानकारी दिएकाे छ ।

























