विराटनगर । आगामी माघ २६ गते कानुन व्यावसायी परिषद्को निर्वाचन हुँदैछ । परिषद्को ७ वटै प्रदेशबाट १–१ जना निर्वाचित हुनेछन् ।
कोशी प्रदेशको १ जना जना पार्षदका लागि २ जना उम्मेदवार छन् । कोशी प्रदेशमा नेकपा (एमाले)निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र)निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जसपानिकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धनबाट बालकृष्ण आचार्य उम्मेदवार छन् ।
नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको तर्फबाट राजु ढकाल उम्मेदवार छन् । बार काउन्सिलको निर्वाचनमा कोशी प्रदेशमा ९ सय ६६ जना मतदाता छन् । बारमा धेरै सदस्य रहेको मोरङमा डीएलएको वर्चस्व छ । उच्च बारमा पीएलएसहितको गठबन्धनको वर्चस्व छ ।
प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन तथा डीएलए–एसपीएल गठबन्धनको मतदाता संख्या लगभग बराबर छन् । ‘बार काउन्सिलको चुनावमा कडा प्रतिस्पर्धा छ,’ अधिवक्ताहरु भन्छन्, ‘नतिजा यस्तै हुन्छ भन्न गाह्रो छ ।’
कोशी प्रदेशमा बार काउन्सिलको निर्वाचनका लागि इलाम, उदयपुरको गाईघाट, झापा, धनकुटा र विराटनगरमा मतदान केन्द्र तोकिएको छ । बार काउन्सिलले कानुन व्यवसायीको लाइसेन्स वितरण तथा खारेजी, कानुनी शिक्षा, कानुन व्यावसायीको आचारसंहितालगायत क्षेत्रमा काम गर्छ ।
कानुन व्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता
निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरुले निर्वाचित भए कानुन व्यावसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ जिल्ला बार एसोसिएसनले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आचार्य र ढकालले कानुन व्यवसायीको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कानुन व्यवसायी क्षेत्रको सुरक्षाका लागि काम गर्ने, कानुन व्यवसायीलाई मर्यादीत बनाउन पहल गर्ने, सक्षम कानुन व्यावसायी उत्पादनका लागि योजनावद्ध रुपमा काम गर्नेलगायतका प्रतिबद्धता उनीहरुले जनाएका थिए ।