उर्लाबारीको मोबाइल पसलमा चोरी : डेढ सय मिटरको दुरी, के गर्दै थियो प्रहरी ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार ११:४२

विराटनगर । मोरङको उर्लाबारीमा सटर फोडेर मोबाइल पसल चोरी भएको घटनालाई लिएर प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

उर्लाबारी नगरपालिका–७ का योगराज कार्कीले उर्लाबारी–५ मा सञ्चालन गरेको मोबाइल वल्र्ड नामक पसलमा सोमबार बिहानका राति चोरी भएको थियो । मोबाइल पसल पूर्व–पश्चिम राजमार्गसँगै उत्तरतर्फ उर्लाबारी चोकमा छ । त्यो इलाका प्रहरी कार्यालयबाट करिब डेढ सय मिटरको दुरीमा पर्छ ।

Advertisement

कार्यालयनजिकै मुख्य चोकमा रहेको पसलमा चोरले रजाइँ गरिरहँदा प्रहरी के गर्दै थियो भनेर प्रश्न उठेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्चार्ज एवं इन्स्पेक्टर राकेश यादव बिदामा थिए । सइ चूडामणि पौडेल निमित्त प्रमुखको जिम्मेवारीमा थिए ।

सइ पौडेल कार्यालयको मुद्दा फाँट हेर्छन् । मुद्दा फाँटमा उनले खेल्ने गरेको भूमिकामा पनि बारम्बार प्रश्न उठिरहेको छ । पौडेलमाथि मुद्दा फाँटमा बसेर अपराध अनुसन्धानका नाममा पैसाको ‘बार्गेनिङ’ गर्ने गरेको आरोप छ ।

त्यहाँमाथि कार्यालयनजिकै करिब १ घण्टा लगाएर चोरीमा संलग्नले मोबाइल पसल रित्त्याउँदा सुइँकोसम्म नपाउनुले प्रहरीको भूमिकालाई थप शंकास्पद बनाएको छ । पसल सञ्चालकले खबर गरेपछि प्रहरीले बिहान ९ बजेतिर घटना थाहा पाएको हो ।

उर्लाबारीको मुख्य चोकमै रहेको पसलको सटर फोडेर ३ करोड मूल्य बराबरको मोबाइल चोरी हुँदा सुरक्षामा खटिने प्रहरी के गरिरहेका थिए भनेर सार्वजनिक हिसाबले प्रश्न उठेको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूले बताए । घटनाको प्रकृति हेर्दा र प्रहरी कार्यालयनजिकै चोकमा घटना हुँदा थाहा नपाउनुले कतै प्रहरीकै मिलेमतो थियो कि भनेर आशंका गर्ने पर्याप्त आधारहरु खडा भएको स्थानीय व्यापारीहरु बताउँछन् ।

प्रहरीको निष्क्रियताले घटना भएको गुनासो उनीहरुको छ । पसल सञ्चालक कार्कीले ३ करोड मूल्य बढीको मोबाइलहरु पसलबाट चोरी भएको जानकारी दिएका छन् । कार्कीका अनुसार आईफोन, रेडमी, ओपोलगायत विभिन्न ब्राण्डका ४ सय ५० भन्दा बढी मोबाइलहरु पसलमा राखिएको थियो ।

पसलमा राखिएको ९ लाख रूपैयाँ पनि चोरी भएको उनले बताए । कार्कीले केही मोबाइल कम्पनीको डिलरको पनि काम गर्दै आएको अध्यक्ष लिम्बूले बताए । ‘केही मोबाइलको डिलरको काम गर्ने गरेको पाइएको छ । विभिन्न कम्पनीका महँगा मोबाइल बिक्री गर्ने पसल थियो,’ उनले भने, ‘घटनास्थल वरपर ३ सयवटा त च्यातेर फालेको मोबाइलको खोल मात्रै फेला पारेको छ । केही थान चार्जर पनि फेला परेको थियो ।’

लिम्बूका अनुसार पसलमा रहेको सीसी क्यामेरा फुटेजमा २ जना केटाहरुले चोरी गरिरहेको देखिन्छ । ‘२ जनाले मोबाइल बोरामा राखेर ४ पटक त ओसारेकै देखिन्छ । घटना सोमबार बिहान राति १ः२३ बजेतिरको हो । करिब १ घण्टा लगाएर चोरी गरेको पाइयो,’ उनले भने ।

उनका अनुसार पसलमा २ लाख १५ हजार मूल्य बढीसम्मका मोबाइलहरु रहेछन् । उर्लाबारी उद्योग वाणिज्य संघले सोमबार नै विज्ञप्ति जारी गरेर प्रहरीको भूमिकामा प्रश्न उठाएको छ । संघले सुरक्षा संवेदनशीलताको विषयमा गम्भीर प्रश्न खडा भएको जनाएको हो ।

‘चोरी भएको स्थानमा २४ घण्टा नै प्रहरीको उपस्थिति हुनुपर्ने हो । नियमित गस्ती र ‘मुभमेन्ट’ हुनुपर्नेमा प्रहरीबाट कमजोरी भएको देखिन्छ,’ लिम्बू भन्छन्, ‘प्रहरीले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरेको भए मुख्य चोकमा यति ठूलो घटना हुने थिएन । चोरले एक जना व्यापारीको सबै सकिदियो ।’

आफ्नै अगाडि चोरी हुँदा पनि प्रहरीले थाहा नपाउँदा शान्ति सुरक्षाको अवस्था कमजोर बनेर गएको प्रष्ट हुने उनी बताउँछन् । ‘शान्ति सुरक्षाको अवस्था मजवुत नभएको रूपमा हामीले बुझेका छौं । घटना भइसकेपछि चोरीमा संलग्नलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्नसकेको छैन । तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने भूमिका प्रहरीले खेल्नुपर्छ,’ अध्यक्ष लिम्बूले भने ।

प्रहरीको अगाडिबाट चोरी हुनु र हालसम्म चोरीमा संलग्न पक्राउ नपर्नुले झन् ठूलो संशय पैदा भएको व्यापारीहरु बताउँछन् । उनीहरुले व्यावसायिक असुरक्षा बढेको र प्रहरीले त्यसतर्फ ध्यान नदिएको गुनासो गरे ।

चोरीमा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालको नेतृत्वमा टोली खटिएको छ । साथै, इलाका प्रहरी कार्यालय उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट पनि टोली परिचालन गरिएको छ ।

डीएसपी दाहालले सोमबार साँझ चोरीमा संलग्नलाई १ देखि डेढ घण्टाभित्र पक्राउ गरिसक्ने बताएका थिए । ‘हामी चोरको नजिक पुगिसकेका छौं । अब तत्काल पक्राउ गर्छौं,’ उनले भनेका थिए । तर, डीएसपी दाहालले भनेजस्तो प्रहरी घटनामा संलग्नको नजिक पुग्न सकेकै छैन । उनले हावादारी गफ दिएर घटनालाई मोड्न खोजेको देखिन्छ ।

उर्लाबारी–५ का वडाध्यक्ष रविन लामा प्रहरीकै अगाडि चोरले पसल फोड्नु आश्चर्यको विषय भएको बताउँछन् । ‘प्रहरीले आफ्नो काम त गरिरहेकै होला । तर, प्रहरी कार्यालयबाट अति नै नजिक रहेको पसल फोडेर चोरी भएपछि प्रहरीको कामकारबाही र भूमिकामाथि प्रश्न उठ्नु स्वभाविक हो,’ उनले भने, ‘प्रहरीका लागि यो ठूलो चुनौती बनेको छ । यो घटनाले प्रहरी अलि संवेदनशील हुनु आवश्यक छ भन्ने देखाउँछ ।’

शान्ति सुरक्षाका सबालमा प्रहरी संवेदनशील हुनुपर्ने लामाले बताए । ‘सुरुमा व्यवसायी आफू पनि दह्रो हुनुपर्छ । आफ्नो सुरक्षा आफैं गर्नतर्फ लाग्नुपर्छ । तर, प्रहरीकै अगाडि कसरी चोरी भयो ? भनेर प्रश्न उठेको छ,’ वडाध्यक्ष लामाले भने ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले चोरीमा संलग्नको पहिचान हुन नसकिरहेको र डीएसपी मोहनविक्रम दाहाल नेतृत्वको टोलीले खोजी जारी राखेको बताए । ‘प्रहरी कार्यालयनजिकै चोरी भएकै हो । यसमा स्थानीय प्रहरीको केही कमजोरी देखिन्छ । यसतर्फ पनि थप बुझ्ने काम गरिरहेका छौं । प्रहरीको लापरबाहीले घटना भएको भए कारबाही हुन्छ,’ जोशीले भने ।

पसलमा रहेको सीसी क्यामेरा फुटेजको अध्ययन गर्दै विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । फुटेजबाट मात्रै चोरीमा संलग्नको पहिचान गर्न गाह्रो परेको उनले बताए ।

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार ११:४२
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.