
विराटनगर । अर्का व्यक्तिलाई बढुवाका लागि ठाउँ खाली गराउनकै लागि नेपाल प्रहरीका एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) रवीन्द्र केसीले राजीनामा दिएका छन् ।
सेवाअवधि बाँकी रहँदै उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् । एआईजी केसीले राजीनामा बुझाएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी (प्रहरी नायव महानिरीक्षक) दिनेशकुमार आचार्यले पुष्टि गरे । मुलुकी खबरसँग कुरा गर्दै आचार्यले भने, ‘उहाँ (केसी)ले राजीनामा दिनु भएको कुरा मैले पनि सुनेको छु । तर, राजीनामा दिनुको कारण थाहा भएन । घरयासी कारणले हुनसक्छ ।’
प्रहरी प्रधान कार्यालयमै रहेको प्रदेश समन्वय विभागमा कार्यरत केसीको सेवाअवधि आगामी चैत ५ गतेसम्मको
थियो । तर, अवकाशमा जाने समय बाँकी छँदै उनले राजीनामा दिएका छन् । उनले गत शुक्रबार राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै एआईजी केसीको राजीनामा स्वीकृत भएर उनी अवकाशमा जान्छन् ।
राजीनामापत्र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय लिएको थियो । एआईजी बढुवा भएको १ महिनामै उनले राजीनामा दिएका हुन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अर्का व्यक्तिलाई एआईजीमा बढुवाका लागि ठाउँ खाली गरिदिन केसीले राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भएपछि डीआईजी जनक भट्टराईलाई एआईजी बन्न बाटो खुल्ने छ ।
स्रोतका अनुसार एआईजी बनाउने बेलामै भट्टराईका लागि राजीनामा दिने सर्तमा केसीलाई बढुवा गरिएको थियो । उनी पूरै समय सेवामा रहँदा भट्टराईले एआईजी हुन पाउँदैनन् । हाल कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका भट्टराईलाई एआईजी बनाउनकै लागि केसीलाई राजीनामा गराइएको स्रोतको दाबी छ ।
भट्टराई पनि ३० बर्से सेवाअवधिका कारण आगामी चैत ५ गते अवकाशमा जाँदैछन् । केसीलाई राजीनामा दिन लगाएर उनका लागि एआईजी सुरक्षित गरिएको उच्च प्रहरी स्रोतले बतायो । अबदेखि नेपाल प्रहरीमा पनि अर्का व्यक्तिलाई बढुवा गर्न सेवाअघि नै राजीनामा दिने प्रचलन बसेको छ ।
नेपाल प्रहरीमा यसअघि त्यस्तो चलन थिएन । निजामतीतर्फ भने सेवाअवधि बाँकी रहे पनि राजीनामा दिन लगाएर अर्को व्यक्तिलाई बढुवा गर्ने चलन थियो । राजीनामा दिएकालाई भने अन्यत्र नियुक्ति दिइन्थ्यो ।
यस विषयमा बुझ्न खोज्दा एआईजी केसीसँग सम्पर्क हुन सकेन । बारम्बार गरेको फोन उनले उठाएनन् ।

























