
काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दरपीठ गरेको छ । । उस्तै विषयसँग सम्बन्धित निवेदन विचाराधीन रहेको भन्दै सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले नयाँ रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) गरेका हुन् ।
आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । रिटमा केबलकार निर्माण रोक्नका लागि आदेश माग गरिएकाे थियाे ।
सर्वोच्च अदालत नियमावलीको नियम १८(२)मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।
सोही आधारमा सर्वाेच्चले रिट दरपीठ गरेको हो ।
यसअघि आईन्द्रकुमार लिम्बुले २०७७ फागुनमा दर्ता गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । दरपीठ आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा माग भएको विषय सोही रिट निवेदनबाट सम्बोधन हुने प्रकृतिको देखिँदा सार्वजनिक सरोकारको विषय अदालतमा प्रवेश भई विचाराधीन रहेको अवस्थामा सोही विषयमा पुन प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन ।’

























