
काठमाडौं । मुलुकभरका ९ स्थानमा वायु प्रदूषण उच्च रहेको छ । पोखरा, भक्तपुर, काठमाडौं, भैंसेपाटी, हेटौंडा, रत्नपार्क, खुमल्टार, भरतपुर र धनगढी वायु प्रदूषणको चपेटामा परेका छन् ।
अझ पोखराको स्थिति निक्कै खराब छ । प्रदूषित सहरमध्ये पोखरा पहिलो स्थानमा छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा लगातार ३ दिनदेखि वायु प्रदूषण उच्च रहेका सहरमध्ये पहिलो नम्बरमा रहेको हो ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागअन्तर्गतको वायु गुणस्तर निगरानीले शुक्रबार बिहान पौने ६ बजेसम्म पोखराको वायु प्रदूषण २०३ एक्यूआई मापन गरेको छ । विभागले यसलाई ३ दिनयताकै सबैभन्दा खराब सूचकांक भनेको छ ।
वायु प्रदूषण भक्तपुरको १८६, काठमाडौं शंखपार्कको १८९, ललितपुर भैंसेपाटीको १७९, हेटौंडाको १७४, रत्नपार्कको १७१, खुमल्टारको १६९, भरतपुरको १६४ र धनगढी क्षेत्रको १६२ एक्यूआई मापन गरिएको छ ।
५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

























