
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सङ्खुवासभामा १५.६ मिलिमिटर वर्षा भएकाे छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पनि केही ठाउँमा वर्षाको सम्भावना छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
फागुन १५ गतेअघि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । हिउँद सुक्खा हुँदा कृषिबालीमा असरसँगै डढेलो, वायु प्रदूषण लगायतको जोखिम बढ्छ ।

























