‘नो केबलकार’का नाममा अराजकता : मानव अधिकार रक्षक र रेडक्रसकर्मीमाथि आक्रमण

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ९, शुक्रबार १४:३९

विराटनगर । ताप्लेजुङको पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा मानव अधिकार रक्षक र रेडक्रसकर्मीमाथि आक्रमण भएको छ । आक्रमणबाट गाडी चालक गम्भीर घाइते भएका छन् ।

आक्रमणको मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले निन्दा तथा भर्त्सना गरेको छ । पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा झडप भएपछि उद्धारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई बिहीबार ‘नो केबलकार’ समूहका कार्यकर्ताले आक्रमण गरेका थिए ।

Advertisement

पछिल्लो समय ‘नो केबलकार’का नाममा अराजकता बढ्दै गइरहेको छ । ‘नो केबलकार’ समूहका कार्यकर्ताले भौतिक आक्रमण, तोडफोड, सामाजिक सञ्जालको दुरुपयोग, गालीगलौज गर्नेदेखि कालोमोसो दल्नेसम्मका हर्कत गरिरहेका छन् ।

तर, आन्दोलनको नेतृत्व गरिरहेकाहरुले भने अराजक गतिविधि रोक्न कुनै भूमिका खेलेको देखिँदैन । उल्टै अराजकतालाई बढवा दिइरहेको पाइन्छ । समाजमा द्वन्द्व बढ्ने गरी अराजकता मच्चाउँदा न राज्यले नियन्त्रणमा लिन सकेको छ । न त आन्दोलनकारी संयम बनेका छन् ।

माग पूरा गराउन राज्यलाई दबाब दिने नाममा आक्रमण, तोडफोड, अमानवीय व्यवहारजस्ता गलत एवं तल्लो स्तरका हर्कत भइरहेको विश्लेषण अधिकारकर्मीहरुको छ । अर्कोतर्फ आन्दोलनरत पक्षलाई विकास विरोधीको आरोपसमेत लागिरहेको छ ।

संस्कार र संस्कृतिको संरक्षण गर्दै विकास निर्माणलाई अघि बढाउन सहजीकरण गर्नुपर्ने बेला ‘नो केबलकार’का नाममा समाजमा आतंक मच्चाउने काम भइरहेको छ । विभिन्न ठाउँबाट ताप्लेजुङ पुगेकाहरुले ‘केबलकार’को विरोध गरिरहेका छन् । तर, जनप्रतिनिधिदेखि बहुसंख्यक स्थानीय भने ‘केबलकार’को पक्षमा छन् । उनीहरुले यसअघि फुङलिङमा ‘केबलकार’को पक्षमा सद्भाव र्यालीसमेत निकालेका थिए ।

इन्सेकले विज्ञप्ति जारी गर्दै ताप्लेजुङ घटनाको निन्दा तथा भर्त्सना गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले आज (शुक्रबार) विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘फुङलिङ नगरपालिका–९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा ‘नो केबलकार’ समूहका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा प्रदर्शनकारीको उद्धारका लागि इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव तथा रेडक्रसका आजीवन सदस्य कमल लिम्बू घटनास्थलतर्फ जाँदै हुनुहुन्थ्यो । सो क्रममा उहाँहरू सवार मे १ ज २५७९ को गाडी तोडफोड गरिएको छ भने सवारी चालक फुङलिङ नगरपालिका–९ का ३५ वर्षीय राजकुमार पौडेल गम्भीर घाइते हुनु भएको छ ।’

टाउकोमा गहिरो चोट लागेर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पौडेललाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पातलमा भर्ना गरिएको इन्सेकले जनाएको छ । उनीलगायत अधिकारकर्मी र रेडक्रसकर्मीमाथि ‘नो केबलकार’ समूहका कार्यकर्ताले आक्रमण गरेका थिए ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालका मानव अधिकार रक्षकहरूले निर्बात काम गर्ने गरेको इतिहास रहेको विज्ञप्तीमा उल्लेख छ । नेपालको संविधान तथा कानुनले व्यक्तिको निर्बाध आवागमनको अधिकार सुनिश्चित गरेको इन्सेकले स्मरण गराएको छ । त्यसमाथि मानव अधिकार रक्षकलाई बिना रोकटोक घटनाको अनुगमन गर्ने अधिकार पनि रहेको इन्सेकले जनाएको छ ।

आन्दोलनरत पक्ष र प्रशासनलाई समेत जानकारी गराएर उद्दारका लागि गएको अधिकारकर्मी सवार गाडीमा जानाजान तोडफोड भएकाले आन्दोलनको नेतृत्व गर्नेहरु जबाफदेही हुन जरुरी रहेको विज्ञप्तिमा भनिएको छ । यस्ता घटनाको पुनरावृत्ति नगर्न, मानव अधिकार रक्षकको अधिकार रक्षा गर्न, निर्बाध आवागमनको सुनिश्चितता गर्न तथा घटनामा संलग्न आफ्ना समर्थकलाई कारबाहीको दायरामा ल्याउन ‘नो केबलकार’ समूहको नेतृत्वसँग माग गरिएको इन्सेकका कार्यकारी निर्देशक गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनाको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लिले शुक्रबारबाट अनिश्चितकालिन यातायात बन्दको आवह्वान गरेको छ । व्यवसायीले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका तथा ताप्लेजुङका शाखा सडकमा यातायात बन्दको आवह्वान गरेका हुन् ।

ताप्लेजुङमा चालक कुटपिट र सवारी तोडफोडको विरोधमा यातायात बन्द

 

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.