
काठमाडौं । विश्व वन्यजन्तु दिवस आज (सोमबार) परेको छ । प्रत्येक वर्ष मार्च ३ मा यो दिवस मनाउने गरिन्छ ।
वन्यजन्तु र मानव द्वन्द्वको न्यूनीकरण गरी जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै दिवस मनाउने गरिन्छ । दिवसको नारा ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ हो ।
वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्नुपर्नेमा यो दिवसले विशेष जोड दिने गरेको छ । जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले संयुक्त राष्ट्रसंघको ६८ औँ महासभाले २०१३ डिसेम्बर २० मा मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा मनाउने घोषणा गरेको हो।
सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरर्राष्ट्रिय व्यापार महासन्धि (सीआइटीईएस) अनुमोदन भएको थियो। सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसंघीय सम्मेलन तथा सीआइटीईएस पक्षराष्ट्रको सम्मेलनले वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो।
सीआइटीईएसले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ। सीआइटीईएसमा १ सय ८३ देश सदस्य छन्।
विज्ञहरुका अनुसार १० लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको छ । वन्यजन्तु संरक्षणमा ठूलो धनराशि खर्च हुने देखिन्छ । वन्यजन्तु संरक्षणमा जोड दिँदै यो दिवस मनाउने गरिन्छ ।

























