
विराटनगर । मोरङको बेलबारीमा साथीले काटेको रुखको हाँगाले लागेर आज (सोमबार) १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा रुखको हाँगाले लागेर बेलबारी नगरपालिका–४ का ५७ वर्षीय टेकप्रसाद भट्टराईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार भट्टराई साथीहरुसँग बाख्रालाई घाँस काट्नका लागि देवीथान सामुदायिक वनमा गएका थिए ।
घाँस काट्नलाई साथी गएका बेलबारी–४ का ४० वर्षीय बालकृष्ण आचार्यले काटेको कुम्भीको रुखको हाँगाले भट्टराईको टाउकोमा लागेको जोशीले बताए । उनका अनुसार बिहान ८ः३० बजेतिर रुखको हाँगाले लागेर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाएको छ । घटनालगत्तै प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

























