
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–३ हात्तीसारमा पिकअप गाडीको ठक्करबाट बालिका दिदीबहिनीको मृत्यु भएको छ।
सडकको पेटीमा बसेर चटपटे खाइरहेका उनीहरुलाई गाडीले ठक्कर दिएको थियो। डिमगेटबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको सामान बोक्ने प्र १–०५००१ च ००९२ नम्बरको पिकअप गाडीले बिहीबार साँझ ७ः३० बजेतिर दिदीबहिनीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सप्तरी घर भइ त्रियुगा–१२ दुर्गा टोलमा डेरा गरी बस्ने १२ वर्षीया देवीकुमारी दास र उनकी १४ वर्षीया दिदी अनुकुमारीको मृत्यु भएको उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङले जानकारी दिए। उनका अनुसार बहिनीको घटनास्थलमै र दिदीको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
डीएसपी दोङका अनुसार गाडीसहित चालक उदयपुरको त्रियुगा नगरपालिका–९ का १८ वर्षीय निरजल कटुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























