
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता प्रकरणमा ३ जना भ्रष्टाचारी ठहर भएका छन् ।
३ वटा विदेशी कम्पनी पनि दोषी ठहर भएका छन् । भ्रष्टाचारी ठहर भएका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल र विदेशी नागरिक मोद नुर अमिन बीन मोद नुर खानलाई १–१ वर्ष कैद सजाय तोकिएको छ ।
विशेष अदालतका अध्ययक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले बिहीबार उक्त फैसला गरेको हो । विशेषले न्यूमेरा (एम) एसडीएनबीएचडी मलेसिया, नमस्ते ग्लोबल कम्पनी प्राइभेट लिमिटेड सिंगापुर र ओएसआई डिजिटल प्राली इण्डिया जेभीलाई संयुक्त रुपमा २३ करोड २० लाख ५९ हजार ३ सय १४ रुपैयाँ बिगो तथा त्यति नै जरिबाना भराउने फैसला गरेको छ ।
बिगो र जरिबाना जोड्दा सबैले संयुक्त रुपमा ४६ करोड ४१ लाख १८ हजार ६ सय २८ रुपैयाँ तिर्नुपर्ने हुन्छ । साथै, झा र खनाल संस्थाको अध्यक्ष भएकाले उनीहरुलाई थप १–१ महिला कैद हुने फैसला भएको छ ।
अन्य प्रतिवादी प्राधिरकणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाला हाडा, मीनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, संदिप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सुर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय र निराजन कोइरालाले सफाइ पाएका छन् ।
प्राधिकरणको पदीय हैसियतमा रहेर आफूभन्दा माथिल्लो जिम्मेवार पदाधिकारीले निर्णय गरी तोकेबमोजिमको पदीय कर्तव्य पूरा गरेको, व्यक्तिगत हैसितमा कुनै निर्णय नगरेको, आफूलाई तोकिएको संयन्त्र र समितिमा रहेर उनीहरुले तथ्यको विश्लेषण गरी कानुन बमोजिमको टिप्पणी उठाई राय र प्रतिवेदन दिएको, खरिद प्रक्रियामा परामर्शदाता छनोट समेतमा निर्णायक भूमिका नरहेको भन्दै उनीहरुलाई सफाइ दिइएको फैसलामा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ वर्ष अघि २०८० चैत १५ मा प्राधिकरणका तत्कालीन अध्यक्ष झा सहित २० जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरु विरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।
यस्तो छ फैसलाको पूर्णपाठ

























