
विराटनगर । मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–९ मा शुक्रबार साँझ अटो टेम्पोमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बाटो मोड्ने क्रममा चुहाडेबाट गाईघाटतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ह ०३१० नम्बरको अटोमा प्रदेश १–०२–०४३ प ५७४३ नम्बरको मोटरसाइकल साँझ ५ः२० बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ वारांगीका २६ वर्षीय अजय लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि गाईघाट अस्पताल लगिएको हो । साँझ ६ः१० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
अटो चालक त्रियुगा–७ का ३८ वर्षीय भुसेलाल दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलको तीव्र गति र अटोको लापरबाहीले दुर्घटना भएको प्रहरीको भनाइ छ ।

























