आजदेखि सुरु भयाे उपभोक्ता अदालत

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र २, शनिबार १५:०४

काठमाडौं । नेपालमा उपभोक्ता अदालत सुभारम्भ भएको छ । उपभोक्ता अदालत उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ बमोजिम आज उपभोक्ता अदालत सुभारम्भ भएको हो ।

विश्व उपभोक्ता अधिकार दिवस, २०८१ को अवसरमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अदालतको उद्घाटन गरे । समुद्घाटन समारोहमा बोल्दै उनले गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको न्यायिक उपचार पाउने अधिकार सुनिश्चित भएको बताए ।

Advertisement

उपभोक्ताको अधिकारलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरेको उनको भनाई छ । प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतको कार्यक्षेत्र व्यापक भएकाले यसको अधिकार क्षेत्र थप स्पष्ट पार्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वच्छ र प्रतिस्पर्धी बजार प्रवर्धन गर्न तथा उपभोक्ताको अधिकार सुनिश्चित गर्न उपभोक्ता अदालतको स्थापना भएको बताए ।

उपभोक्ता अदालतको अध्यक्षको जिम्मेवारी काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई यसअघि नै दिइएको थियो । न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.