अघोषित लोडसेडिङको मारमा निजी क्षेत्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ७, बिहीबार ०८:१४

विराटनगर । १२ घण्टासम्म अघोषित लोडसेडिङ हुनथालेपछि निजी क्षेत्र असन्तुष्ट बनेको छ । भारतले दिउँसो मात्रै विद्युत दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रीडमा १२ घण्टासम्म विद्युत कटौती भइरहेको छ । जसले गर्दा उत्पादन ७० प्रतिशतसम्म कटौती भएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको हो ।

अघोषित रुपमा लोडसेटिङ हुँदा उत्पादन लागत बढेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । अघोषित लोडसेटिङका कारण नयाँ उद्योग थपिने अवस्था नरहेको उनले बताए । ‘ प्रदेश सरकारले लगानी सम्मेलन पनि गर्दैछ, यस्तो अवस्थामा नयाँ उद्योग कसरी थपिन्छ ?’ उनले भने,‘जबसम्म विद्युत पर्याप्त हुँदैन,तबसम्म नयाँ उद्योग लगाउने अवस्था आउँदैन ।’ उनले विद्युत कटौतीका कारण सिमेन्ट र छठको मुल्य बढ्ने अवस्था आएको बताए ।

Advertisement

अघोषित लोडसेडिङका कारण उद्योगको उत्पादन ३० देखि ४० प्रतिशतमा खुम्चिएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी बताउँछन् । विद्युत दिने भनिएको समयमा पनि बारम्बार कटौती भइरहेको उनले बताए । जसका कारण उत्पादन लागत बढेको उनको भनाई छ । ‘सिमेन्ट, स्टिल, प्लाष्टिक उद्योगलाई १२ घण्टाले पुग्दैन, मेसिन तताउन समय लाग्छ, यी उद्योग ८ घण्टा पनि चल्न सकिरहेको छैन,’ उनले भने ।

पहिले ५० देखि ६० प्रतिशत क्षमता चलिरहेका उद्योग अहिले ४० प्रतिशत भन्दा तल झरेको उनले बताए । उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको सम्बन्धको कारण पनि समस्या बढेको उनले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना सरकार विद्युत प्राधिकरणको टसलको मारमा निजी क्षेत्र परेको बताउँछन् । ‘धेरै ठूलो समस्या बनायो, उद्योग चल्नै गाह्रो अवस्था छ,’ उनले भने,‘ कुलमान घिसिङ मन्त्रालयलाई दोष लगाउँदै हुनुहुन्छ, मन्त्रीले कुलमानलाई दोष लगाउँदैछन,उहाँहरुको जुँगाको लडाइमा प्राइभेट सेक्टर अफ्ठयारो पर्याे ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.