खोइ दलहरुमा प्रजातान्त्रिक संस्कार ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ११, सोमबार १६:२४

जीवनभर प्रजातन्त्र र यसको प्रक्रियालाई बलियो बनाउने भनेर लागेका राजनीतिक दल र नेताहरु हरेक परिवर्तनका अगुवा हुन् । यसमा नागरिक समाज, पेशागत संघ, संगठन अनि आम सर्वसाधारणको भूमिका उनीहरुकै हाराहारी छ । अझ कतिपय प्रसंग र सन्दर्भहरुमा त उनीहरुको भन्दा बढी भूमिका पनि देखिएको ।

समाजका हरेक पक्षको योगदान हुने भए पनि राज्य सञ्चालनमा दल र नेताहरु नै पुग्ने भएकाले उनीहरुबाट सही मार्गदर्शनको अपेक्षा हुनु स्वाभाविक हो । पछिल्लो समय त्यसविपरीत दल र तिनका नेताहरुमा प्रजातान्त्रिक संस्कारको कमी देखिन थालेको छ । शक्तिमा पुगेपछि आफूले चाहेको, आफ्ना आसेपासे अनि ‘यस म्यान’ हरुलाई जिम्मेवारीमा राख्ने प्रवृत्तिले यही देखाएको छ ।

यो कुनै एकदुई राजनीतिक दलमा मात्र होइन, सबैजसोमा देखिएको छ । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) र अरु दलहरुमा पनि जिम्मेवारी दिन ‘टिके प्रथा’ ले जरो गाढेको छ । यसले गर्दा इमान्दारपूर्वक संगठनमा लागेर मेहनत गरेकाहरु किनारा लगाइने गरेका छन् ।

नेपालमा प्रजातन्त्र प्राप्तिका निम्ति राजनीतिक दलहरुले मेहनत गरेका छन् । २००७ साल, २०४६ साल र २०६२–६३ सालको परिवर्तनमा राजनीतिक दलहरुको नेतृत्व ऐतिहासिकरुपमा सफल भएको हो । परिवर्तन उनीहरुकै अगुवाइमा सम्भव हुने हो ।

तिनै परिवर्तनपछि उनीहरु सत्तामा पटक पटक पुगेका छन् । शक्तिको अभ्यास गरेका छन् । माथिल्लो तहमा पुगेपछि संगठनको तल्लो आधारभूमि बिर्सने रोग पनि नेताहरुमा देखिएको छ । सबै दलका आफ्ना विभिन्न भातृ संगठनहरु छन् । दलभित्रै पनि अनेक विभाग र संरचनाहरु छन् । तिनमा प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व छनोट गरिनु पर्ने हो । यसो भए पनि नेतृत्व छनोटका बेला नेताहरुको खल्तीमा हुने नाम अघि सारिन्छ । यो सर्वथा गलत हो । यसले जनतामा निरासा उत्पन्न गरिरहेको छ ।

इमान्दार भएर लागिपरेका कार्यकर्ताहरुले कसैको नजिक नभएकै आधारमा अवसर नपाउँदा पलायन वा विद्रोहजस्ता विकल्पहरुको खोजी हुन थाल्छ । यसले संगठनलाई झन्झन् कमजोर बनाउन मलजल गर्छ ।

कांग्रेसका भातृ संगठनहरु लामो समयदेखि तदर्थ रुपमा सञ्चालनमा रहने गरेको कुरा नयाँ होइन । प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गर्दै निर्वाचनमार्फत् त्यस्ता संगठनको नेतृत्व चयन गर्न संस्थापन पक्ष जहिल्यै उदासीन रहँदै आएको प्रष्ट छ । केही समय अघिमात्र कांग्रेसले पार्टीका भातृ संस्थाहरुमा नेतृत्व छनोटको प्रक्रिया अघि बढाएको हो । त्यसमा पनि प्रक्रिया बेवास्ता गर्दै एकलौटी रुपमा पदाधिकारी छान्ने प्रवृत्ति देखिएकै हो ।

मुख्य पार्टी मध्येको अर्को एमालेमा पनि उही रोग देखिएको छ । संस्थापन पक्षले पहिल्यै तयार पारेको सूची अनुसारको पदाधिकारी चयन गर्न मातहत समितिहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष दबाब दिने गरेको पनि नौलो होइन । भरखरै सम्पन्न पार्टीको मोरङ जिल्ला अधिवेशनले यो कुरा छर्लङ्ग पारिसकेको छ । नेतृत्वको त्यही प्रवृत्तिका विरुद्ध मोरङमा इतर पक्षले बाजी मार्न पुग्यो । यो एक प्रकारले संस्थापन पक्ष भनिनेहरु विरुद्धको विद्रोह नै मान्नु पर्छ ।

विराटनगरमा जारी एमाले निकट सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारीको नेतृत्व चयनमा पनि यही कुरा देखिएको छ । संस्थापन पक्षले फलाना फलानालाई पदाधिकारी बनाउनू भन्ने उर्दी जारी गरेको छ । धेरैले यसको विरोध गरिरहेका छन् । निर्वाचन प्रक्रियाबाट नेतृत्व छानिनु पर्छ भनेर हस्ताक्षर अभियानै चलेको छ ।

हो, सबैबीच योग्य व्यक्तिहरुका लागि सहमति हुन सक्यो भने त्यो पनि एउटा सहज प्रक्रिया नै हुन्छ तर सहमतिका नाममा निर्वाचनमार्फत् गरिने प्रजातान्त्रिक अभ्यासलाई नै अवरुद्ध पार्ने गरी कदम चालिनु कदापि राम्रो मान्न सकिँदैन ।

माओवादीको कुरा गर्दा लामो समयदेखि उही नेतृत्व कायम रहनु, पार्टीआबद्ध संस्थाहरुमा आसेपासेले नै मौका पाउनु जस्ता कुरा दोहोरिने गरेको छ । यही कारण कतिपय नेता–कार्यकर्ता पार्टी त्याग्न बाध्य भइरहेको माओवादीसहित सबैजसो दलमा देखिएकै हो । असन्तुष्टि बढ्दै जाँदा पार्टी नै विभाजन हुनु परेको उदाहरण पनि यिनै तीन दलले देखाइसकेका छन् ।

राजनीतिलाई शुद्ध पार्न प्रत्येक राजनीतिक दलहरुमा प्रजातन्त्रको उचित अभ्यास हुन दिनुपर्छ । राजनीतिमा शुद्धता भएन भने सम्पूर्ण समाज विकृत हुन जान्छ । यसले समाजको आर्थिक, सामाजिक, सांस्कृतिक तथा संरचनागत पक्षहरुलाई विकृत तुल्याउँछ।

एउटै राजनीतिक दलमा वर्षौंसम्म एउटै नेतृत्व वा एउटै व्यक्ति चुनावी उम्मेदवार र एउटै व्यक्ति पटक–पटक मन्त्री रहने प्रणालीले दलीय प्रजातन्त्रको छवि धुमिल्याइरहेको छ । मूल नेतृत्व चयनमै उच्चतम प्रजातान्त्रिक विधि अपनाउन नसकेपछि अन्य निकायहरुमा उही कुरो दोहोरिने हो ।

नेतृत्वले जे चाह्यो त्यो भइहाल्नुपर्ने भन्ने सोचाइ चरम व्यक्तिवादी व्यवहार हो । अहम् हो । अहंकार हो । प्रजातन्त्रमा यस्तो ‘निरंकुश’ स्वभाव स्वीकार्य हुँदैन । यो कुरालाई पुरै बेवास्ता गर्दै राजनीतिक दल र तिनका नेताले आफूखुसी गर्न छाडेका छैनन् । प्रजातन्त्रका लागि लडेको भनेर नथाक्ने उनीहरु नै प्रजातान्त्रिक प्रक्रिया र संस्कारलाई बलियो बनाउने कुरामा बाधा बनिरहेका छन् । योभन्दा विडम्बना अरु के हुन सक्छ ?

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.