
विराटनगर । इटहरीको मुख्य चोकमै पूर्व–उत्तरतर्फ सेन्टर प्लाजाको १० तले भवन छ । त्यही भवन बुधबार ६ घण्टासम्म जलिरहयो ।
व्यावसायिक भवनको पाँचौं तलाबाट एक्कासि आगो दन्किन थाल्यो । पाँचौं तलामा होटल बरन्डा थियो । भवनमा बैंकसहित अन्य व्यवसाय पनि थिए । आगलागी बिहान करिब ९ः४५ तिर सुरु भएको प्रहरीको भनाइ छ ।
आगोले सेन्टर प्लाजा जलिरहँदा भवनको माथिल्लो तलामा रहेकाहरु शीघ्र उद्धारको प्रतिक्षामा थिए । उद्धारका लागि उनीहरुले हारगुहार गरिरहे । चिच्याउन थाले । त्रसित एवं भयभीत बसिरहेका उनीहरुको उद्धार लामो समयपछि सम्भव भयो ।
सबैको ध्यान तान्ने र मुख्य राजमार्ग क्षेत्रमा नै रहेको व्यापारिक भवनमा लागेको आगो नियन्त्रणमा लिन करिब ६ घण्टा लाग्यो । आगो नियन्त्रणमा लिन समय लागेपछि अनेक प्रश्नहरु उपब्जिएका छन् । अग्ला भवन बनाउन अनुमति दिने निकायले सम्भावित खतरा एवं सुरक्षालाई ध्यान दिएको पाइएन ।
आगो नियन्त्रणका लागि स्थानीय र सुरक्षा निकायका तीनै तह परिचालन मात्रै भएनन् । काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर ल्याएर उद्धार र नियन्त्रणको प्रयास गर्दा पनि निक्कै हम्मेहम्मे पर्यो । घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीभन्दा करिब २ सय ५० मिटर पश्चिममा मात्रै थियो ।
केही मिटर र किलोमिटर वरपर सुरक्षा निकायका सुविधायुक्त कार्यालय र जनशक्ति छन् । दमकलसहितका स्थानीय सरकार र प्रदेश सरकार पनि धेरै किलोमिटर टाढा छैनन् । सडकमा जाम र भिडभाड थिएन, मात्रै थियो आगलागी नियन्त्रणमा समन्वय र समयमा के गर्ने भन्ने निर्णयको अभाव । त्यसैले आगो दन्किरह्यो । सेन्टर प्लाजा जलिरहयो ।
आगो नियन्त्रणमा सुरक्षा निकायसहितका सरोकारवालाबीच समन्वयको अभाव देखियो । आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा २५ जनाको टोली तत्काल खटिएको थियो । आगो नियन्त्रणमा लिन करिब २ सय मिटरको दुरीमा रहेको इटहरी उपमहानगरपालिकाका २ वटा दमकल र एउटा ‘रोड वासर’समेत तत्काल घटनास्थल पुर्याइयो । आगो निभाउन अनेक प्रयास गरियो । तर, तत्काल नियन्त्रण सम्भव भएन ।
सेन्टर प्लाजाका मोबाइल पसल सञ्चालक सुमित अधिकारी समयमा क्रेन ल्याएर नियन्त्रण प्रयास गरेको भए कम क्षति हुने बताउँछन् । ‘अग्लो भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको थियो । तत्काल क्रेन ल्याइएन । दमकल र मानवीय सहायताले नियन्त्रण कठिन भयो । तीनै तहका सरकार हुँदा पनि आगो समयमा नियन्त्रणमा आएन । समयमा क्रेन आएको भए चाँडै नियन्त्रण सम्भव हुने थियो । क्रेन ल्याएपछि आगो नियन्त्रण सहज भयो,’ अधिकारीले भने ।
निरन्तर फैलिएको आगोले भवन बाहिरका सिसा फुट्न थालेका थिए । भवनको भित्र कति फसेका छन् ? आंकलन गर्न कसैले सकेको थिएन । उद्धारको पर्खाइमा रहेका कोही भवनको छतमा देखिन्थे । २ वटा दमकलको प्रयास सम्भव नभएपछि सुनसरी र मोरङका विभिन्न पालिकाबाट १२ वटा दमकल पुगे । तर, पाँचौं तलामाथिको आगो नियन्त्रण लिन दमकलबाट सम्भव भएन ।
अग्लो भवनको आगो मान्छे र दमकलले निभाउन सक्ने अवस्था नै थिएन । त्यही पनि नियन्त्रणमा लिने प्रयास स्वरूप १ दर्जन दमकलले पानी हालीरहे । नियन्त्रणमा आउनुको साटो भित्रभित्रै आगो फैलिरह्यो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली आगो निभाउने क्रममा सुरक्षाकर्मीबीच पनि समन्वय नभएको बताउँछन् । सुरक्षा निकायलगायत सरोकारवालाबीच तालमेल नमिलेकाले आगो नियन्त्रणमा समय लागेको उनको भनाइ छ ।
आगो नियन्त्रणमा लिनलाई समन्वय गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट एसएसपी भीमबहादुर दाहाल नै घटनास्थल पुगेका थिए । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरी खटिएका थिए । सशस्त्र प्रहरी ४ नम्बर हेडक्वार्टरबाट एसपी निमलकुमार थापाको नेतृत्वमा ७७ जना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट एसपी विनोद घिमिरेको नेतृत्वमा ७५ जनाको टोली परिचालित थियो ।
नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभसम्शेर जबराको नेतृत्वमा ५० जना तथा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीबाट इन्स्पेक्टर गजेन्द्र कटवालको नेतृत्वमा ५० जना थप सुरक्षाकर्मी खटिएका थिए । एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिन सिंगो सुरक्षा निकाय र तीनै तहका सरकार परिचालित भए । तर, पनि भित्र दन्किएको आगो समयमै नियन्त्रणमा आउन सकेन ।
इटहरीमै रहेको पूर्वी पृतना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू आएपछि आगलागी भएका माथिल्ला तलामा फसेकाहरूको करिब १० बजेबाट मात्रै उद्धारको लागि प्रयास सुरु भएको थियो । लामो प्रयासले ११ जनाको उद्धार गर्न सम्भव भएको र घटनामा मानवीय क्षति हुन नपाएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार उद्धारका क्रममा ३ जना घाइते सामान्य भएका छन् । घाइतेहरु उपचारपछि डिस्चार्ज भइसकेको खतिवडाले बताए ।
भवनको माथिल्लो भागमा फसेकाको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरमार्फत सेनाका २ जना जवानहरूले भवनको छतमा झरेर खोज्दा कोही नभएपछि तिनै जवानलाई लिएर हेलिकप्टर पूर्वी पृतना इटहरी फर्कियो ।
भवन निर्माण गर्दा सुरक्षामा छैन ध्यान
भवन निर्माणमा गरिएको लापरबाहीका कारण दमकल दौडन सक्ने, त्यसमा पनि सुविधा सम्पन्न सहरको बीचमा रहेको व्यापारिक भवनमा आगलागी हुँदा नियन्त्रणमा लामो समय लागेको विज्ञहरु बताउँछन् । सुन्दर देखिने १० तले भवनमा आन्तरिक रूपमा आगो निभाउने उपकरण थिएन । आपत्कालीन निस्कने द्वार भेटिएनन् । त्यसैले जलिरहे मुख्य चोकको भवनका कोठाहरु ।
आगो निभाउन इटहरी, दुहबी, रामधुनी, धरान, बेलबारी, इनरुवा, बराहक्षेत्र, विराटनगरलगायतका स्थानबाट १२ वटा दमकल घटनास्थल पुगेका थिए । १२ वटा दमकल र ३ सय ४७ जनाभन्दा बढी सुरक्षाकर्मी तथा स्थानीयले ६ घण्टा लगाएर आगो नियन्त्रणमा लिए । अहिले प्रश्न उठेको छ, ‘एउटा भवनमा लागेको आगो नियन्त्रण गर्न त यस्तो समस्या ? अन्य धेरैमा लागे के गर्ने ?’
यसरी अग्लो भवनमा लागेको आगो नियन्त्रणमा लिन ६ घण्टाभन्दा बढी समय लाग्नुको मुख्य कारण नै भवन निर्माण गर्दा सुरक्षा र ‘सेप्टी’ उपकरणमा ध्यान नदिनु रहेको विज्ञहरुको भनाइ छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भवन राम्रा र अग्ला बनाए पनि आन्तरिक रूपमा आगो नियन्त्रणमा लिने उपकरण र आपत्कालीन द्वार नराख्दा ठूलो क्षति भएको बताए ।
उनका अनुसार भवन बनाउँदा आन्तरिक रूपमा पानी र आगो नियन्त्रण गर्ने उपकरण राखेको हुनुपर्छ । सुरक्षित रूपमा निस्किन सकिने विभिन्न आपत्कालीन ढोका पनि राखेको हुनुपर्ने उनले बताए । तर, त्यस्तो सुरक्षामा कुनै ध्यान नदिएको पाइएको प्रजिअ मिश्रले बताए । आगो निभाउन ढिलो हुनुको कारण के हो भन्ने विषयमा समीक्षा गरिने उनको भनाय छ ।
आगलागीको कारण भएको क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । आगलागीको कारण पनि पत्ता लाग्न सकेको छैन । होटलको ग्यास ‘लिक’ भएर वा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए ।



















