
काठमाडौं । संघीय संसद्ले सोमबार एकै दिन ५ वटा ऐन पारित गरेको छ । संसदले पारित गरे लगतै राष्ट्रपतिले ५ वटैं ऐन प्रमाणीकरण गरेका छन् ।
राष्ट्रिय सभामा आज पाँच वटा प्रतिस्थापन विधेयकमाथि दफावार छलफल भएको थियो । दफावार छलफलपछि पाँच वटै विधेयक क्रमश पारित भएका हुन् ।
सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।
अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भयो ।
राष्ट्रिय सभाबाट पारित भएको पाँच वटै विधेयकको सन्देशसहित सोमबार प्रतिनिधि सभामा टेबुल भएको थियो । राष्ट्रिय सभाबाट पारित भए आएको विधेयकका लागि प्रतिनिधिसभाको दोस्रो बैठक बसेको थियो ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा पाँच वटै विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल भएपछि प्रक्रिया पुरा गरेर सभामुखले प्रमाणीकरणका लागि सोमबार नै राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले पनि सोमबार नै ती विधेयकहरू प्रमाणीकरण गरेपछि ऐन लागु भएको हो ।
यसअघि सरकारले पाँच वटा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गरेको थियो । अध्यादेशकै प्रावधान राखेर प्रतिस्थापन विधेयक संसदमा पेश भएको थियो ।


























