
विराटनगर । मोरङ जिल्लाले लगातार तेस्रो पटक इक्युवालिटी कप क्रिकेटको उपाधि जितेको छ ।
विराटनगरमा बिहीबार सम्पन्न भएको फाइनल खेलमा मोरङले सप्तरीलाई पराजित गरी चौथौ इक्युवालिटी कपको जितसँगै लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको हो ।
नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा मोरङले सप्तरी जिल्लालाई ८ विकेटले पराजित गर्दै उपाधि जित्यो । प्रतियोगिताको पहिलो संस्करणमा मोरङले झापासँग हारेको थियो ।
टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनायो । साक्षी यादवले २८ रन र दीपा रामले १५ रन बनाइन् । बलिङमा मोरङकी प्लेयर अफ द फाइनल रितिशा धामीले ५ विकेट र बन्धना राजवंशीले ३ विकेट लिए ।
८२ रनको लक्ष्य पछ्याएको मोरङले ११ ओभर १ बलमा २ विकेटको क्षतिमा विजयी भयो । सानु राजवंशीले ४० रन र टीका साहले १५ रन बनाए । बलिङमा सप्तरीकी साक्षी यादव र अपेक्षा यादवले समान १–१ विकेट लिए ।
प्रतियोगिताको प्लेयर अफ द सिरिज सिरहाकी सरस्वती चौधरी, उत्कृष्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृष्ट बलर मोरङकी रितिशा धामी र उत्कृष्ट विकेट किपर मोरङकी प्रिंसा राना मगर भए ।
प्रतियोगितालाई म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रिजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियानअन्तर्गत क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।
खेलाडीलाई कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।



















