
रौतहट । जंगली बँदेलका लागि थापेको विद्युतीय धरापमा परेकी महिलाको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका– १ बलेरीमा विद्युतीय धरापमा परी स्थानीय ४५ वर्षीय फुलमतिया देवीको मृत्यु भएको हो । प्रहरीले विद्युतीय धराप थापेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
स्थानीय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाङ्गो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुँदै आउने क्रममा ४५ वर्षीया फुलमतीया देवीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बँदेल मार्न थापेको धरापमा महिला मृत अवस्थामा फेला परेपछि सुशील विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेका थिए । चैत १४ गतेदेखि हराइरहेकी महिलाको शव १९ गते गाडिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले महिलाको खोजतलास गर्ने क्रममा मकै बारीमा चप्पल र बिजुलीको तार फेला परेपछि दुवैलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई प्रारम्भिक अनुसन्धान पश्चात कर्तव्य ज्यान मुद्दा चलाउनका लागि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।
‘जंगल छेउमा बनाएको गोठबाट फर्कदै गरेकी फुलमतीया देवीको विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएपछि दुवै जनाले जंगलमा गाडेका रहेछन्,’जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने,‘ मकै बारीमा तार र चप्पल भेटिएपछि आरोपी पक्राउ परे ।’

























