
विराटनगर । चौथो मिल्स कप इन्डो नेपाल टी २० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको होराइजन क्रिकेट क्लब विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिलको मैदानमा शनिबार (आज) भएको प्रतियोगिताको उद्घाटन खेलमा होराइजनले सीमावर्ती बजार भारत विहारको जोगबनीको प्रशान्त क्रिकेट क्लबलाई पराजित गरेको हो ।
होराइजनले जोगबनीलाई १ सय ७ रनको विशाल स्कोरअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको छ ।
टस जिती पहिले ब्याटिङ थालेको होराइजनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १९ रनको विशाल योगफल बनायो । मिनाश थापाले ५२ रन, अभिषेक कार्कीले ४६ रन, फिर्दोस अन्सारीले ४१ रन र अटल साहले ३२ रन बनाए । बलिङमा जोगबनीका अभिषेक राजाले ३ विकेट लिए ।
जोगबनीले पाएको २ सय २० रनको लक्ष्य पछ्याउने क्रममा १४ ओभर १ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय १२ रनमै समेटियो । अमन राजले २८ रन, आदित्य राजले १७ रन र असफाक अन्सारीले १२ रनको योगदान गरे ।
बलिङमा होराइजनका दीपेश कँडेलले ३ विकेट, फिर्दोस अन्सारीले २ विकेट लिए भने मिनाश थापाले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच होराइजनका मिनाश थापाले ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल भारतको दिल्ली युथ क्लब र भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी तथा दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र विहार पूर्णियाको डिजायर क्रिकेट क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्न एकेडेमीकी सचिव शान्ता श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ ‘म्यान अफ द टुर्नामेन्ट’ लाई २५ हजार, सर्वाधिक रन र विकेट लिनेलाई जनही १५ हजार प्रदान गरिने छ ।
चैत ३० गतेसम्म हुने प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी १२ टिमको सहभागिता रहेको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि यस प्रकारका प्रतियोगिताहरूको महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्द्धनका लागि नेपाल र भारतबीचको यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान गर्ने बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘प्रतियोगिताले खेलाडीमा भएको प्रतिभा बाहिर आउने र आफूलाई चिनाउने अवसर प्रदान गर्छ । प्रदेश सरकारले क्रिकेटलगायत सबै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा विशेष ध्यान दिइरहेको छ ।’



















