
काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने लगायत माग राख्दै आन्दोलनरत् नेपाल शिक्षक महासंघले शैक्षिक हडताल घोषणा गरेको छ।
चैत २० गतेदेखि काठमाडौंमा सडक प्रदर्शनमा उत्रिएको महासंघले चैत २५ गतेदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन् ।
महासंघले देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ ।
यसैबीच, महासंघको अगुवाइमा भइरहेको काठमाडौं केन्द्रित आन्दोलन जारी छ । विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने लगायतका माग अघि सार्दै देशभरका शिक्षकहरु आन्दोलित बनेका छन् ।
आन्दोलनमा सहभागी हुन देशभरबाट हजारौं शिक्षक काठमाडौंमा भेला भएका छन् । चैत २० गतेदेखि जारी पछिल्लो आन्दोलनका क्रममा आज आइतबार सिट्ठी जुलुस प्रदर्शन गरिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सहभागी शिक्षकहरुलाई सिट्ठी लिएर ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गरेका छन् ।

























