
विराटनगर । अन्तर्राष्ट्रिय खेलकुद दिवस कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विकास र शान्तिका लागि खेलकुद भन्ने मूल नाराका साथ बोर्डले आइतबार विराटनगरमा बृहत् र्यालीको आयोजना गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएको र्याली अस्पताल चोक, जलजला चोक, गोल्छा चोक हुँदै बोर्डको कार्यालयमा पुगेर समापन भएको थियो ।
र्यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले ९ औं राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजाभन्दा उत्कृष्ट नतिजा ल्याउने गरी १० औं खेलकुदको तयारीमा जुटेको बताए ।
उनले हालै सम्पन्न कोशी प्रदेश खेलकुद महोत्सव पनि राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको एक स्वरूप भएको धारणा राखे ।
बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले १० औं राष्ट्रिय खेलकुदको तयारी स्वरूप बोर्डले विभिन्न प्रतियोगिताहरू आयोजना गरिरहेको जानकारी दिए ।
‘खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्नका लागि हामीले निरन्तर रूपमा खेल गतिविधि गरिरहेका छौं,’ सदस्यसचिव बस्नेतले भने ।
उनले खेलकुद महोत्सवले अरू प्रदेशलाई पनि सकारात्मक सन्देश दिएको बताए ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुँयालले खेलकुद चलायमान बनाउन बोर्ड सक्रियताका साथ अगाडि बढिरहेको बताए ।



















