
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर १ दिने योगा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार विराटनगरस्थित बोर्डको कार्यालय परिसरमा योगा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले शरीर तन्दुरुस्त र निरोगी बनाउनु साथै मानसिक स्वास्थ्यका लागि समेत योग महत्वपूर्ण रहेकोले योगा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए ।
उनले बालकदेखि वृद्धसम्मलाई हितकारी हुने योगाको अभ्यास र प्रवर्द्धनमा बोर्डले सक्रियता साथ भूमिका खेल्ने धारणा राखे ।
योग प्रशिक्षक शिल्पा प्याकुरेलले प्रशिक्षण दिएकी थिइन् । सो कार्यक्रममा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार, बोर्डकी उपाध्यक्ष विन्दिया कार्की, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायत बोर्डका कर्मचारी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न खेल संघ प्रतिनिधि र खेलाडीहरूको सहभागिता रहेको थियो ।



















