
काठमाडौं । वैदेशिक रोजगारीमा जाने बढेपछि रेमिट्यान्स पनि बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपोर्ट सार्वजनिक गर्दै वैदेशिक रोजगारीमा जानेहरू पनि बढेको देखाएको हो । वैदेशिक रोजगारीका लागि नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १७ हजार रहेको छ । गत वर्ष २ लाख ८५ हजार थियो ।
गत असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति यो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई फागुनसम्ममा २४ खर्ब ९ अर्ब पुगेको छ । कर्जामा भने सामान्य सुधार मात्रै देखिएको छ ।
फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ अर्थात् ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड अर्थात् ४.२ प्रतिशतले बढेको थियो । सरकारको खातामा झन्डै चार खर्ब रकम थुप्रिएर बसेको पनि राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

























