
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिए पनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताए । उनका अनुसार नीतिगत अस्थिरताले लगानीको वातावरण विगतमा बिग्रेको थियो । देशमा भ्रष्टाचारको न्यूनीकरण र अन्त्य गर्न सरकार कटिबद्ध रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले जनतालाई सुविधा पुर्याउनका लागि संघीय प्रणाली स्थापित गरिएको उल्लेख गरे । निजी क्षेत्रले दिएको सल्लाह सुझावअनुसार सरकार चलेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले ल्याएका अध्यादेशहरु सही रहेको र अर्थतन्त्र चलायमान हुन सघाउ पुग्ने उनले बताए ।

























