
काठमाडौँ । लागुऔषध ओसारप्रसारमा पक्राउ परेका छोराको मुद्दाका लागि प्रमाण संकलन गर्न घर तलासी गर्न जाँदा बाबु अवै भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका(१ बैरियास्थित ५८ वर्षीय गंगाराम थारुको घर तलासी गर्दा एक थान भरूवा बन्दुक बरामद गरिएको हो ।
उनी सुत्ने कोठामा लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय, पिपराबाट पुगेको प्रहरी टोलीले शुक्रबार साँझ ५ बजे भरूवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनमणी अधिकारीले बताए ।
बन्दुकसहित गंगाराम थारूलाई पक्राउ गरी अनुसन्धान थालिएकोछ । यसअघि चैत १७ गते ईप्रका पकडीले सीमा क्षेत्रको मायादेवी गाउपालिका–३, बरगदवाको भित्री सडक खण्डमा २५ वर्षे प्रकाश थारूले चलाएको लु ९ प २७७१ नंबरको पल्सर मोटरसाइकल जाँच गर्दा चार ग्राम ५० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।
प्रकाशले मोटरसाइकलको ट्याङकीको लक भित्र लुकाएर उक्त पदार्थ ल्याइरहेको पाइएको थियो ।
प्रकाश थारुको मुद्दामा थप प्रमाण लाग्न सक्ने आधार फेला पर्न सक्ने हुँदा ईप्रका पिपराको प्रहरी टोली उनको घरमा खानतलासी गर्न पुगेको थियो । प्रहरीका अनुसार गंगाराम र प्रकाश बाबुछोरा हुन् ।

























