२०८१ साल : विभिन्न अपराधमा मुछिए उच्च पदस्थ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३१, आइतबार २०:१२

विराटनगर । नेपालमा १ वर्षको अवधिमा उच्च पदस्थ व्यक्तिहरु विभिन्न अपराधमा मुछिएका छन् । अर्थात्, नेपालमा उच्च पदस्थ व्यक्तिहरूको आपराधिक संलग्नता र कानुनी कारबाहीको विषयले २०८१ साल निक्कै चर्चामा रहयो ।

उच्च पदस्थ मुछिएका अनेक प्रकरण तथा कारबाहीका दृष्टिकोणले उल्लेखनीय वर्षका रूपमा २०८१ लाई लिन सकिन्छ । १ वर्षको अवधिमा राजनीतिज्ञदेखि न्यायाधीश, सहकारी सञ्चालकदेखि व्यवसायीहरू विभिन्न आपराधिक प्रकरणमा मुछिएर छानबिन, अनुसन्धान एवं कारबाहीको दायरामा परे ।

वर्षभरि राजनीतिक तहमा हलचल ल्याएको एउटा घटना हो, भुटानी शरणार्थी प्रकरण । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाअन्तर्गत पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता आङ्टावा शेर्पालगायत कारागार चलान भए ।

यस प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, शरणार्थी नेता टेकनारायण रिजाल, रामशरण केसी लगायतका व्यक्तिहरू पनि मुछिए । यसमा संलग्न भनिएका पूर्वमन्त्रीहरू खाँण र रायमाझी, तथा सचिव पाण्डेलगायतका व्यक्तिहरू पहिले नै पक्राउ परिसकेका थिए।

तर, भारतमा लुकेका बेचन झालाई पक्राउ गरी नेपाल ल्याएपछि २०८१ मा यो प्रकरणले फेरि चर्चा पायो । प्रहरीले उनलाई कञ्चनपुरबाट पक्राउ गरेको दाबी गर्यो । बेचनले रामशरण केसीबाट भुटानी शरणार्थीलाई अमेरिका पठाइदिन्छु भन्दै २ करोडको चेक लिएको अभियोग छ।

उनलाई समातेपछि सरकार ढल्ने स्थितिसमेत आयो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यसै घटनाले सत्ता समीकरण उल्टिएको दाबी गरेका छन्।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी घोटाला प्रकरणमा मुछिए । पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीलगायतका विभिन्न ५ वटा सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परे ।

लामिछानेमाथि रकम अपचलनसँगै ठगी र संगठित अपराधमा मुद्दा चलाइयो । विभिन्न जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । जिल्लाको आदेश उल्टाउँदै उच्चले थुनामा राख्न आदेश दिएपछि उनलाई पक्राउ गरेर कारागार चलान गरियो ।

जीबी राई, पूर्वडीआईजी छविलाल जोशी र लामिछाने मिलेर सुप्रिमको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ । राई हालसम्म फरार छन् । जोशीलाई थुनामा राख्न अदालतले आदेश दिएको छ । ​

लामिछाने मुछिएको सहकारी ठगीले सबैको ध्यान खिच्यो । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि सुप्रिम सहकारी प्रकरणमा पक्राउ परे। उनले सचिव हुँदा रकम हिनामिना गरेको आरोप छ। पछि थुनामुक्त भए। यसै सहकारीबाट रवि लामिछानेले १ करोड ८० लाख ऋण लिएको प्रमाण फेला परेको अभियोजन पक्षको दाबी छ।

सहकारी ठगीकै अर्को नाम हो, सीबी तामाङ। उनी अध्यक्ष रहेको कान्तिपुर र पशुपति सेभिङ को–अपरेटिभमा १ अर्ब ५१ करोड हिनामिना भएको छ। ८ सय ५२ जनाले उनलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन्। यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पनि रकम हिनामिना आरोपमा पक्राउ परे ।

२०८१ सालमा न्यायाधीश पनि कारबाहीमा परे । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि पत्नीले वैवाहिक बलात्कारको आरोप लगाइन् । उक्त प्रकरणमा अहिले आएर गिरीले सफाइ पाए ।

विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईं वर्षभरि विवादमा रहे । सर्वोच्च अदालत परिसरमा उनका सुरक्षा गार्डबाट हतियार र गोली बरामद भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

राजावादी आन्दोलनका कमाण्डर प्रसाईं तीनकुने ताण्डवपछि फरार रहेका थिए । प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रसाईं हालसम्म ३ पटक पक्राउ परिसकेका छन् । साइबर अपराध, राज्यविरुद्धको कसुर, संगठित अपराध र ज्यान मार्ने उद्योगका आरोपमा आरोप उनीमाथि लाग्यो । विभिन्न कसुरमा अनुसन्धान जारी राखिएका प्रसाईं अहिले प्रहरी हिरासतमा छन् । ​

कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता सम्बन्धी कसुरको आरोप लाग्यो । पूर्वगृहमन्त्री लामिछानेको आदेशमा उनी पक्राउ परे ।

सिरोहियाले लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको दाबी उजुरीकर्ताले गरेका छन् । १ साता हिरासतमा बसेपछि सिरोहिया हाजिर जमानीमा रिहा भए । तर, मुद्दा विचाराधीन छ ।

६० किलो सुन तस्करी प्रकरणले पनि वर्षभरि चर्चा पायो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दोस्रो चरणको अनुसन्धानपछि १६ जनालाई थुनामा पठायो । त्यो समूहले ३ हजार १ सय ९४ केजी सुन तस्करी गरेको अनुसन्धान एवं छानबिनको निष्कर्ष छ ।

विभिन्न अपराधमा मुछिएसँगै राजनीतिक र सामाजिक क्षेत्रमा चिनिएका एवं चर्चित व्यक्तिहरुलाई २०८१ मा छानबिन एवं अनुसन्धानको दायरामा ल्याइएको थियो । २०८२ साल भने सोमबारबाट सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.