विशेष पूजाआजासहित सुनवर्षी थानमा सुरु भयो मेला

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १, सोमबार १८:३६

विराटनगर । विशेष पूजाआजासहित मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी थानमा मेला सुरु भएको छ । सुनवर्षी थानमा लाग्ने परम्परागत मेला प्रत्येक वर्ष वैशाख १ गतेबाट विशेष पूजाआजासहित सुरु भएर चण्डीपूर्णिमाका दिन समापन हुन्छ ।

यसवर्ष मोरङका विभिन्न स्थानमा वैशाख २९ गतेसम्म मेला चल्ने छ । सुनवर्षी थानलाई तराईका आदिवासी र थारु समुदायको विशेष देवस्थल मानिन्छ। त्यहाँ ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतका समुदायले आफ्नो कुलदेवताको रूपमा सुनवर्षी महाराजको पूजा गर्ने गर्छन् ।

नयाँ वर्षको दिन सुनवर्षी थानमा विशेष पूजा गरिन्छ । भक्तजनले मनोकामना पूरा भएपछि माटोको हात्ती, कागजको फूलघोडा चढाउने परम्परा छ। मेला भर्न र पूजाआजाका लागि झापा, मोरङ, सुनसरी र छिमेकी देश भारतबाट पनि हजारौँ भक्तजन पुग्ने गरेका छन् ।

सुनवर्षी थानमा रहेको पोखरी र गोहीको बारेमा एउटा प्रसिद्ध किम्बदन्ती पनि छ। धेरै वर्षअघि पोखरीमा रहेको गोही भक्तजनलाई भाँडाकुँडा दिन्थ्यो र कसैलाई गहना चाहिएमा पोखरीबाट आफैं निस्कन्थ्यो भन्ने जनविश्वास छ।

सुनवर्षी थान ३ विघा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। यसलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मानिने वडाध्यक्ष कुमार बुढाथोकीले बताए । ‘सुनवर्षी थान हाम्रो पहिचान हो। यसको संरक्षण, प्रचार र विकासमा सबैले सघाउनुपर्छ। सरकारको ध्यान यहाँ पुग्नुपर्छ । यसलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,’ बुढाथोकीले भने ।

नयाँ वर्षको दिनबाट सुरु भएको मेला वैशाख महिनाभरि मोरङको दक्षिणी क्षेत्रमा रहेका विभिन्न थानहरुमा चल्छ । परम्परा, श्रद्धा र संस्कारसँग जोडिएको मेला तराईको चाडपर्व जस्तै बनिसकेको वडाध्यक्ष बुढाथोकीको भनाइ छ ।

सुनवर्षी थानमा पूजा गरेपछि मनको चाहना पूरा हुने जनविश्वास छ । स्थानीय सरोकारवालाहरुले सुनवर्षी थानलाई लक्षित गरेर वर्षभरि नै धार्मिक पर्यटक भित्राउन सकिने बताएका छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.