
काठमाडौं । चौथो विश्व क्योकुसिन तेजुका कराँते च्याम्पियनसिपका रजत पदक विजेता दावा शेर्पालाई सम्मान गरिएको छ ।
गैर आवासीय नेपाली, जापानका सुवर्ण कार्कीले रजत पदक विजेता शेर्पालाई एक कार्यक्रमका बीच प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँका साथ सम्मान गरे ।
जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत जितेका थिए ।
सम्मानपछि कार्कीले भने, ‘विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन । यो ऐतिहासिक उपलब्धि हासिल गरेकोमा तपाईं ( दावा ) लाई बधाई छ । तपाईंको सफलता पैसासँग तुलना गर्न मिल्दैन । यसलाई मेरो व्यक्तिगततर्फ बाट सम्मान र प्रोत्साहन सम्झनु होला ।’
कार्कीले सोही प्रतियोगिताका दौरान भएको अन्तर्राष्ट्रिय कराँते संगठन क्योकुसिनकाइ–कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेस्टबाट ५ औं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराँते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई बधाई दिए ।
कार्यक्रममा अध्यक्ष बस्नेतले दावाले जितेको पदक नेपाली फुल कन्ट्याक्ट कराँतेको इतिहासमा अहिलेसम्मकै ठुलो सफलता भएको बताए ।
दावालाई सोही उपलब्धिका लागि नेपाल क्योकुसिन कराँते (इको) संघले पनि गत चैत २८ गते २५ हजार नगदसहित सम्मान गरेको थियो ।



















