
काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज (बुधबार) नेपाल हङकङसँग भिड्दै छ ।
नेपालले आफ्नो तेस्रो खेलमा अहिले ९ः३० बजे तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङको सामना गर्ने भएको हो । नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईमाथि डीएल पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।
उता अफगानिस्तानले पनि आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो जित निकाल्दै अफगानिस्तान नेपालसँगै समान २ जित भएपनि नेट रनरेटमा अगाडि छ ।
आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ । नेपाल र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी रहने छन् । त्यसो हुँदा शनिबार हुने नेपाल र अफगानिस्तानको खेलले नै विश्वकप खेल्ने टोलीको टुंगो लगाउने छ ।



















