
काठमाडौं। आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल लगातार विजयी भइरहेको छ । नेपालले आज (बुधबार) तेस्रो जित निकालेको छ ।
नेपालले तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङलाई ९ विकेटले सहजै पराजित गर्यो । हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १२.३ ओभरमा पूरा गर्यो ।
ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो ।
शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ र वीर माथुरले १२ रन बनाएका थिए । सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ सटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए ।
६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङ त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझाउन बाध्य भयो । नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । विपिनप्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।
नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानको सामना गर्नुपर्ने छ । अपराजित यात्रामा रहेको अफगानिस्तानले माथिल्लो मुलपानी क्रिकेट मैदानमा यूएईसँग आजै खेल्दै छ ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३५९ रनको विशाल योगफल खडा गरेको छ । यूएईलाई पराजित गरेमा अफगानिस्तानले आगामी शनिबार फाइनल खेलमा नेपालसँग प्रतिस्पर्धा गर्ने छ ।



















