
विराटनगर । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ गोपेका ३२ वर्षीय चामकुमार तामाङले आफ्नै नाबालिका छोरीलाई आज (बिहीबार) बिहान खुकुरीले हानेका छन् ।
चामकुमारको खुकुरी प्रहारबाट छोरी अन्दाजी ५ वर्षीया पवित्रा तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बिहान करिब ६ः३० बजेतिर छोरीमाथि खुकुरी प्रहार गरेका थिए ।
बाबुको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी नाबालिकालाई प्रहरी चौकी सुकेपोखरीबाट खटिएको असई गम्भीर मगर नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि थुलुङ दूधकोशी अस्पताल मुक्लीतर्फ पठाएको थियो । प्रहरी घटनास्थलमा पुग्दा नाबालिका घरदेखि करिब १ सय ५० मिटर पूर्व सडकमा बेहोस भएर रक्ताम्य अवस्थामा लडिरहेकी थिइन् ।
उनको कान, निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । अवस्था गम्भीर रहेकी नाबालिकालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्ववारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार सोलुखुम्बुमा उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजान हेलिकोप्टर मगाइसकिएको छ । नाबालिका छोरीमाथि खुकुरी प्रहार गरेर चामकुमार फरार भएका छन् । उनको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी घिमिरेले बताए ।
घटनास्थलमा दापसहितको खुकुरी फेला परेको छ । चामकुमारले छोरीलाई खुकुरीले हान्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएपछि घटनाको वास्तविकता पत्ता लाग्ने घिमिरेको भनाइ छ ।

























