
विराटनगर । पाँचथरको फिदिममा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता वैशाख ८ गतेदेखि हुने भएको छ ।
जिल्ला खेलकुद विकास समितिले पाँचथरले शुक्रबार (आज) पत्रकार सम्मेलन गर्दै वैशाख ८ गतेदेखि फिदिममा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा टेवा पुर्याउने उद्देश्यले फिदिममा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
अध्यक्ष मोक्तानका अनुसार वैशाख ८ देखि १० गतेसम्म फिदिम हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र प्रतियोगितामा मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्स गरी ४ विधाका लागि ५८ खेलाडी सहभागी हुने छन् ।
प्रतियोगिताको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आयोजना गर्दा करिब १८ लाख खर्च हुने आयोजकले जनाएको छ ।



















