पक्राउ परे सन्तोष राजावादी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ६, शनिबार ०९:५४

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरको महादेवस्थानबाट सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोषकुमार सिलवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार राति आफन्तको घरबाट पक्राउ गरेको हो । उनी काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी भएको प्रहरीको भनाइ छ ।

Advertisement

सीआईबीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा निषेधित क्षेत्र तोड्न बल गर्ने र भिडलाई उत्तेजित बनाउने भूमिका राजावादीले खेलेका थिए ।

राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । हिंसात्मक प्रदर्शनका क्रममा १ जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

प्रदर्शनकारीले पार्टी कार्यालय, सपिङ कम्प्लेक्स र अन्य सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । तोडफोड र आगजनीमा संलग्नहरुलाई अहिले पनि प्रहरीले खोजिरहेको छ ।

प्रहरीले हालसम्म २ सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ । अहिलेसम्म ८२ जनाविरुद्ध अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.