काठमाडौं । नेपाल र बंगलादेशबीच महिला कबड्डी खेल आइतबारदेखि हुने भएको छ ।
अखिल नेपाल कबड्डी संघले पत्रकार सम्मेलन गर्दै आइतबारदेखि काठमाडौंमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले बंगलादेशसँग ५ दिवसीय शृङ्खला खेल्ने भएको छ ।
कबड्डी संघका महासचिव अरविन्दकुमार झाका अनुसार शृङ्खला वैशाख १२ गतेसम्म हुनेछ । नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गए उनले बताए ।
नेपालको कबड्डीले पहिलो पटक एसियन गेम्समा पदक जितेको हो । त्यति बेला बंगलादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको थियो ।
नेपाल र बंगलादेशको कबड्डी संघबीच हरेक वर्ष ३ वटा शृङ्खला खेल्ने सम्झौता भएको छ । यसअघि नै नेपाली पुरुष टोलीले बंगलादेशको भ्रमण गरिसकेको छ ।
उक्त ५ खेलको शृङ्खलामा बंगलादेशले ४–१ को जित निकालेको थियो । यस शृङ्खला एसिया कबड्डी महासंघको मान्यतामा हुन लागेको हो ।
कबड्डीमा कुनै पनि राष्ट्रिय महिला टोलीले पहिलो पटक शृङ्खला खेल्न लागेको संघले जनाएको छ । नेपाली महिला टोली अहिले विश्व वरीयतामा तेस्रो स्थानमा छ ।