
विराटनगर । लागुऔषध अफिमसहित प्रहरीले संखुवासभाको धर्मदेवीबाट ३ जनालाई पक्राउ गरेको छ ।
धर्मदेवी नगरपालिका–४ बाट रामबहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका–६ का देवेन्द्र थापा पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम बरामद भएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी पोस्ट पिलुवा खोलाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का २१ वर्षीय सरण डाँगीलाई पक्राउ गरेको हो ।
उनको साथबाट २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । डाँगीलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

























