
काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएका छन् । टोली २ अलग अलग प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट र ७४ केजीमुनि आशिष भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सयद हसन रेजा रहेका छन् ।
टोली पहिले वैशाख १० देखि ११ गतेसम्म ताइयानमा हुने ७ औँ डब्लुटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा सहभागी हुनेछ । त्यसपछि टोली वैशाख १६ देखि १७ गतेसम्म हुने १३ औँ एसियाली क्लब तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुक्सि जाने छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।



















