
काठमाडौं । मोबाइल लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका-१ घर भई जडिबुटी बस्ने १८ वर्षीय शिखरजंग थापा भन्ने नवराज सुनुवार, धनुषा घर भई बूढानीलकण्ठ बस्ने १८ वर्षीय राज निष्ट यादव र रौतहट घर भई कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर हजाम छन् ।
उनीहरूबाट प्रहरीले बा प्र. ०२-०४६ प ४८५२ नम्बरको मोटरसाइकल र तीन वटा मोबाइल बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पछिल्लो पटक वैशाख ५ गते बिहान पौने ४ बजेतिर काठमाडौंको बसुन्धारामा मोबाइल लुटपाट भएको थियो ।
मोटरसाइकलमा आएका दुई जनाले एउटा ट्याक्सीलाई रोकेर ठमेलमा सामान लिन जाने भनेर साथीलाई फोन गर्नका लागि भनेर चालकसँग फोन मागेका थिए । चितवन घर भएका प्रेम तामाङ बा २ ज ३४५८ नम्बरका ट्याक्सीका चालक थिए । प्रेमले उनीहरूलाई मोबाइल फोन दिए। लगत्तै उनीहरू फोन लिएर मोटरसाइकलमा भागेका थिए ।

























